For the most update information on this topic, please visit jeanhailes.org.au
पाठेघरको मुखको (सर्भिकल) स्क्रिनिङ परीक्षण भनेको के हो?
पाठेघरको मुखको स्क्रिनिङ परीक्षणले तपाईंको पाठेघरको मुखको स्वास्थ्य जाँच गर्छ। डाक्टर वा नर्सले स्वाब प्रयोग गरेर तपाईंको पाठेघरको मुखबाट सानो नमूना लिनेछन् – प्याप स्मीयर जस्तै – र यसलाई ह्यूमन प्यापिलोमा भाइरस (HPV) को परीक्षण गराउनेछन्।
HPV एक सामान्य भाइरस हो जसले तपाईंको पाठेघरको मुखको कोशिकाहरू परिवर्तन गर्न सक्छ। यो पाठेघरको मुखको क्यान्सर हुनुको सबैभन्दा सामान्य कारण हो।
HPV भएका अधिकांश मानिसहरूमा लक्षणहरू देखिँदैनन्, त्यसैले स्क्रिनिङ गर्नु धेरै महत्त्वपूर्ण हुन्छ।
यदि तपाईंको परीक्षणले तपाईंलाई HPV भएको देखाउँछ भने, HPV बाट पाठेघरको मुखको क्यान्सर हुनको लागि सामान्यतया १० वर्ष वा बढी लाग्छ। HPV संक्रमण पाठेघरको मुखको क्यान्सरमा परिणत हुने सम्भावना बिरलै हुन्छ।
स्त्री प्रजनन प्रणालीको रेखाचित्र
के तपाईंले पाठेघरको मुखको स्क्रिनिङ परीक्षण गर्नुपर्छ?
तपाईंले पाठेघरको मुखको स्क्रिनिङ परीक्षण गर्नुपर्छ यदि तपाईं:
पाठेघरकोमुख भएको महिला वा व्यक्ति भएमा
२५ देखि ७४ वर्ष उमेरको भएमा
जुनसुकै लैंगिक वा यौनिक पहिचान भएको अर्को व्यक्तिसँग यौन सम्पर्क राखेको भएमा।
तपाईंले HPV खोप लगाएको भएतापनि परीक्षण गराउनु महत्त्वपूर्ण हुन्छ। जबकि HPV खोप अत्यन्तै प्रभावकारी भएपनि यसले सबै खाले HPV संक्रमणहरूलाई रोक्दैन।
तपाईंले पाठेघरको मुखको स्क्रिनिङ परीक्षण कति समय अन्तरालमा गर्न आवश्यक हुन्छ?
तपाईंले २५ देखि ७४ वर्षको बीचमा प्रत्येक पाँच वर्षमा एक पटक परीक्षण गर्न आवश्यक हुन्छ।
प्रत्येक पाँच वर्षमा स्क्रिनिङ गर्नु धेरै सुरक्षित हुन्छ। किनभने प्रत्येक दुई वर्षमा परीक्षण गर्ने पुरानो तरिका (प्याप स्मियर) मा पाठेघरको मुखको कोशिकाहरूमा भएको परिवर्तनहरूको मात्र परीक्षण गरिन्थ्यो। HPV को लागि नयाँ पाठेघरको मुखको स्क्रिनिङ परीक्षणमा कोशिकाहरूमा परिवर्तन ल्याउने तत्वको परीक्षण गरिन्छ। यसले पहिले नै परिवर्तनहरू पत्ता लगाउन मद्दत गर्दछ।
तपाईंले पाठेघरको मुखको स्क्रिनिङ परीक्षण कहाँ गर्न सक्नुहुन्छ?
पाठेघरको मुखको स्क्रिनिङ परीक्षणहरू डाक्टरहरूको क्लिनिक, स्वास्थ्य केन्द्र र परिवार नियोजन क्लिनिकहरूमा उपलब्ध छन्।
पाठेघरको मुखको स्क्रिनिङ परीक्षण कसरी गरिन्छ?
यदि स्वास्थ्य सेवा प्रदायकले नमूना लिएको खण्डमा
यदि तपाईंको स्वास्थ्य सेवा प्रदायकले परीक्षण गर्छ भने, तपाईंले कम्मर मुनिका लुगाहरू फुकाल्नुपर्छ र आफ्नो खुट्टा फटाएर उत्तानो परेर सुत्नुपर्छ। तपाईं आफैंलाई ढाक्नको लागि एउटा पर्दा दिइनेछ।
तिनीहरूले तपाईंको योनिमा बिस्तारै स्पेकुलम (हाँसको चुच्चो आकारको उपकरण) घुसाउनेछन् र तपाईंको पाठेघरबाट कोषहरूको नमूना लिनको लागि सानो बुरुसको प्रयोग गर्नेछन्। यो अनौठो लाग्न सक्छ, तर यसले चोट नपुर्याउन पर्ने हो। यदि तपाईं चाहनुहुन्छ भने तपाईंले महिला स्वास्थ्य सेवा प्रदायक माग्न सक्नुहुन्छ।
यदि तपाईंले आफ्नै नमूना आफैँ लिएको खण्डमा (स्वयं-सङ्कलन)
यदि तपाईंले आफ्नो नमूना आफैँ लिन रोज्नुहुन्छ भने, यो तपाईंले आफ्नो स्वास्थ्य केन्द्रमा गर्न आवश्यक हुन्छ। तपाईंको स्वास्थ्य सेवा प्रदायकले परीक्षण कसरी गर्ने भनेर व्याख्या गर्नेछन्। तपाईंले यो गोप्य रुपमा गर्न सक्नुहुन्छ वा उनीहरूको मद्दत माग्न सक्नुहुन्छ।
स्वयं-सङ्कलनमा तपाईं आफैँले योनिमा स्वाब घुसाउनुहुन्छ। तपाईंले १० देखि ३० सेकेन्डसम्म गोलाकार आकारमा स्वाबलाई बिस्तारै घुमाउनुहुन्छ। यसले असहज महसुस गराउन सक्छ, तर यसले चोट नपुर्याउन पर्ने हो। त्यसपछि तपाईंले आफ्नो योनिबाट स्वाब निकाल्नुहुन्छ र प्रदान गरिएको प्याकेटमा राख्नुहुन्छ।
स्वास्थ्य सेवा प्रदायकले लिएको नमूना जत्तिकै स्वयं-सङ्कलन पनि सुरक्षित र सही हुन्छ।
तपाईंको परीक्षण पश्चात के हुन्छ?
तपाईंको नमूना लिइसकेपछि, यसलाई परीक्षणको लागि प्रयोगशालामा पठाइन्छ।
यदि तपाईंको परीक्षणमा HPV देखिँदैन भने, तपाईंले आफ्नो अर्को परीक्षणको लागि पाँच वर्ष पर्खन सक्नुहुन्छ।
यदि तपाईंको परीक्षणमा HPV देखिन्छ भने, तपाईंको स्वास्थ्य सेवा प्रदायकले तपाईंलाई अब के गर्न आवश्यक हुन्छ भन्ने बारेमा तपाईंसँग कुरा गर्नेछन्। तपाईंको नतिजा राष्ट्रिय क्यान्सर स्क्रिनिङ रजिस्टर (NCSR) मा जानेछ। यो सेवाले तपाईंलाई तपाईंको अर्को परीक्षण कहिले गर्ने भन्नेबारे रिमाइन्डरहरू पठाउनेछ।
आफ्नो डाक्टरलाई कहिले भेट्ने
यदि तपाईंको पाठेघरको मुखको अर्को स्क्रिनिङ परीक्षण कहिले हो भनेर निश्चित हुनुहुन्न भने आफ्नो डाक्टर वा स्वास्थ्य सेवा प्रदायकलाई भेट्नुहोस्।
यदि तपाईंलाई योनिबाट रक्तस्राव, दुखाइ वा स्राव असामान्य खालको हुन्छ भने, तुरुन्तै आफ्नो डाक्टरलाई भेट्नुहोस्। नोट, यदि तपाईंलाई यी मध्ये कुनै पनि लक्षणहरू छन् भने स्व-सङ्कलन सिफारिस गरिँदैन।
यदि तपाईंले पहिला यो खोप लिनुभएको छैन भने आफ्नो डाक्टरसँग HPV खोपको बारेमा सोध्नुहोस्।
This information has been reviewed by clinical experts and is based on the latest evidence.
Our content review process ensures our health information is accurate, trustworthy, current and useful.
We regularly check our information to make sure it reflects the latest clinical guidelines and key findings from large, reliable studies.
Where possible, we focus on Australian research to make our information more relevant locally.
Experts play a key role in reviewing our content. Clinicians at Jean Hailes check information for accuracy and real‑world relevance. These include GPs, gynaecologists, endocrinologists, psychologists and allied health professionals.
We also work with partner organisations, independent specialists and people with lived experience to make sure our content reflects both expert knowledge and the experiences of the community.